बारा मधेस प्रदेश

भोटेकोशी बाढीपीडितको राहतमा कोल्हवी एकजुट : राजनीतिक दल, उद्योग–व्यवसायी, सहकारी, संघसंस्था र नागरिक समाजको सहभागितामा १५ सदस्यीय समिति गठन

कोल्हवी, बारा । सुरज विक्रम
भोटेकोशीमा आएको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि बाराको कोल्हवीमा १५ सदस्यीय ‘बाढीपीडित राहत सहयोग समन्वय समिति’ गठन गरिएको छ। कोल्हवी नगर उद्योग वाणिज्य संघको विशेष पहलमा बिहीबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत संकलन, व्यवस्थापन र वितरणलाई व्यवस्थित तथा पारदर्शी बनाउने उद्देश्यले समिति गठन गरेको हो।

कोल्हवी नगर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको बैठकमा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मीकुमारी चौधरी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, सहकारीकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन कोल्हवी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेमनारायण चौधरीले गरेका थिए। उनले विपद्को समयमा सबै पक्षलाई एउटै ठाउँमा ल्याएर राहत अभियानलाई प्रभावकारी बनाउन समन्वय आवश्यक रहेको बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिका उपाध्यक्ष जितन प्रसाद चौधरी र नगर समितिका सचिव मनोज चौधरीको समेत सक्रिय उपस्थिति रहेको थियो। रास्वपाको नगर समितिका तर्फबाट समेत राहत अभियानमा सहभागिता जनाउँदै बाढीपीडितलाई सहयोग गर्ने विषयमा छलफल गरिएको थियो।

राहत संकलनमा पारदर्शिता हुनुपर्ने जितन चौधरीको जोड

बैठकपछि रास्वपा कोल्हवी नगर समितिका उपाध्यक्ष जितन प्रसाद चौधरीले राहत संकलन र वितरणमा पारदर्शिता कायम गर्नुपर्ने विषयलाई विशेष रूपमा उठाएका छन्।

चौधरीले बाढीपीडितका नाममा संकलन हुने आर्थिक सहयोग तथा राहत सामग्री वास्तविक पीडितसम्म पुग्नुपर्ने भन्दै व्यक्तिगत रूपमा मनलाग्दी ढंगले राहत संकलन गर्नेभन्दा संस्थागत र व्यवस्थित रूपमा एउटै संयन्त्रमार्फत राहत संकलन तथा वितरण गर्नुपर्ने धारणा राखे।

राहत संकलनमा पारदर्शिता हुनुपर्‍यो र राहत सम्बन्धित पीडितसम्म पुग्नुपर्‍यो। आफ्नो मनखुसी व्यक्तिगत हिसाबले राहत संकलन गर्ने अवस्था हुनुहुँदैन भन्ने आवाज पनि उठाएका छौँ,” चौधरीले बताए।

उनले राहत संकलनपछि कति रकम तथा सामग्री प्राप्त भयो, कहाँबाट प्राप्त भयो र कहाँ तथा कसलाई वितरण गरियो भन्ने विवरण स्पष्ट हुनुपर्ने बताए। विपद्को नाममा उठाइएको सहयोगको सही सदुपयोग हुनुपर्ने भन्दै उनले संकलनदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रियामा पारदर्शिता आवश्यक रहेको बताए।

चौधरीले यस्तो विपद्को समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्ने बताए। राजनीतिक दल, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था, सहकारी, सञ्चार क्षेत्र तथा आम नागरिकले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ।

मनोज चौधरीको पनि महत्वपूर्ण सहभागिता

राहत अभियानसम्बन्धी बैठकमा रास्वपा कोल्हवी नगर समितिका सचिव मनोज चौधरीको उपस्थितिलाई समेत महत्वपूर्ण रूपमा लिइएको छ। नगर समितिको प्रतिनिधिका रूपमा बैठकमा सहभागी उनले विपद्को समयमा सबै राजनीतिक तथा सामाजिक शक्तिबीच समन्वय गरेर पीडितको सहयोगमा जुट्नुपर्ने धारणा राखेका थिए।

राहत संकलन तथा वितरणमा कुनै प्रकारको विभेद नहोस् र वास्तविक पीडितले सहयोग पाउने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। नगरस्तरमा गठन भएको समितिले प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरी आवश्यकताका आधारमा राहत व्यवस्थापन गर्नुपर्नेमा समेत छलफल भएको थियो।

अध्यक्ष प्रसाईंको संयोजकत्वमा समिति

गठित १५ सदस्यीय राहत सहयोग समन्वय समितिको संयोजकमा कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रसाईं चयन भएका छन्।

समितिका सदस्यहरूमा रास्वपा प्रतिनिधि जितन चौधरी, नेपाली कांग्रेस प्रतिनिधि बिनोद चौधरी, नेकपा एमाले प्रतिनिधि पुरन चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपाल प्रतिनिधि भुवन चौधरी, भी. डब्लु. सि. नगर समिति प्रतिनिधि रामनाथ चौधरी, क्लब प्रतिनिधि खुशी चौधरी, सहकारी प्रतिनिधि पारस चौधरी, ब्लोदान प्रतिनिधि रामकुमार उप्रेती, रेडियो पातलगङ्गा प्रतिनिधि धिरेन्द्र पनुहर, व्यापारी प्रतिनिधि अर्जुन प्रसाईं, नेकपा माओवादी केन्द्र प्रतिनिधि रामचन्द्र साफी, महिला प्रतिनिधि प्रेमकुमारी चौधरी, व्यापारी महिला प्रतिनिधि रेहानी खातुन र शिक्षक प्रतिनिधि उमेश चौधरी रहेका छन्।

समितिले राहत संकलन गर्ने, प्राप्त सहयोगको अभिलेख राख्ने, प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गर्ने, आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गर्ने र पारदर्शी रूपमा बाढीपीडितसम्म राहत पुर्‍याउने जिम्मेवारी लिने जनाएको छ।

आधिकारिक माध्यमबाट मात्र सहयोग संकलन

बैठकले राहत संकलनमा पारदर्शिता कायम गर्न नगद सहयोग समितिले तोकेको आधिकारिक बैंक खातामार्फत तथा भौतिक राहत सामग्री तोकिएको संकलन केन्द्रमार्फत मात्र संकलन गर्ने निर्णय गरेको छ।

संकलित रकम तथा राहत सामग्रीको आम्दानी–खर्चको सम्पूर्ण विवरण सुरक्षित राखिने र आवश्यकताअनुसार सार्वजनिक गर्ने प्रतिबद्धता समितिले जनाएको छ।

बैठकमा सहभागीहरूले विपद्को समयमा राजनीतिक तथा सामाजिक भिन्नताभन्दा माथि उठेर मानवीय सेवामा एकजुट हुनुपर्ने बताएका थिए। जात, धर्म, भाषा, क्षेत्र र राजनीतिक आस्थाभन्दा माथि उठेर पीडितको सहयोगमा जुट्नु अहिलेको आवश्यकता रहेको उनीहरूको भनाइ थियो।

विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु नै हाम्रो सामाजिक दायित्व हो” भन्ने मूल भावनाका साथ राहत अभियान अघि बढाउने निर्णय गरिएको छ।

समितिले कोल्हवी नगर क्षेत्रका सम्पूर्ण राजनीतिक दल, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था, सहकारी, नागरिक समाज, सञ्चारकर्मी तथा आम नगरवासीलाई आफ्नो क्षमता अनुसार राहत अभियानमा सहयोग गर्न आह्वान गरेको छ।

विपद्को समयमा संकलन गरिएको सहयोग वास्तविक पीडितसम्म पुर्‍याउनु नै अभियानको मुख्य उद्देश्य रहेको समितिले जनाएको छ। राहत वितरण गर्दा प्रभावित परिवारको अवस्था र आवश्यकतालाई आधार बनाएर प्राथमिकता निर्धारण गरिने बताइएको छ।

कोल्हवी नगर उद्योग वाणिज्य संघको नेतृत्वमा गठन भएको समितिले अब राहत संकलन तथा व्यवस्थापनको कामलाई तीव्रता दिने तयारी गरेको छ। बैठकबाट राहत अभियानसम्बन्धी निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });