बारा मधेस प्रदेश

वडा–नगरपालिका कुर्सीमा मस्त, बेल्वाको बाटो झाडीमा ध्वस्त! बाटो बचाउन महिलाले समाते हँसिया

सुरज बिक्रम, कोल्हवी । बाराको कोल्हवी नगरपालिका–८ मा पर्ने बेल्वा बजार (हाटबजार) जाने सडक लामो समयदेखि झाडी, जङ्गल र फोहोरले अस्तव्यस्त बनेपछि स्थानीय जागरुक महिला दिदीबहिनी तथा आमाहरू आफैं सरसफाइमा जुटेका छन् ।

हाटबजार जाने मुख्य बाटो असुरक्षित बन्दै गएको र सम्बन्धित निकायले बाटोको नियमित सरसफाइ तथा संरक्षणमा चासो नदिएको भन्दै स्थानीय महिलाहरूले सामूहिक रूपमा सडकको झाडी तथा अनावश्यक वनस्पति हटाउँदै सरसफाइ गरेका हुन् । शनिबार भएको उक्त सरसफाइ कार्यक्रम कोल्हवी नगरपालिका–८ स्थित आसमटोल विकास समितिको आयोजनामा भएको हो ।

सरसफाइमा सहभागी एक महिलाका अनुसार बेल्वा हाटबजार जाने बाटो दिनरात प्रयोग गर्नुपर्ने भए पनि बाटोको अवस्था निकै जोखिमपूर्ण बन्दै गएको छ । बाटोको दुवैतर्फ झाडी र जङ्गल बढेका कारण सर्पलगायतका विषालु जनावरको डर हुने गरेको तथा साँझ–बिहान हिँडडुल गर्दा अन्य किसिमका सुरक्षाको जोखिमसमेत बढेको उनले बताइन् ।

उनले भनिन्, “दिनरात हाटबजार जाने बाटो हो, तर बाटो वरिपरि जार–झाडी बढेर हिँड्नै डर लाग्ने अवस्था छ । सर्पको डर छ, रातिको समयमा झन् असुरक्षित महसुस हुन्छ । त्यसैले नगरपालिका र वडा कार्यालयको मुख ताकेर बस्नुभन्दा हामी आफैं मिलेर आज सरसफाइ गर्न आएका हौं ।”

स्थानीय महिलाहरूले सरसफाइ गर्दै गर्दा नगरपालिकाको कार्यशैलीप्रति समेत प्रश्न उठाएका छन् । उनीहरूका अनुसार वडा नं. ८ मा पर्ने यो बाटोमा न त कोल्हवी नगरपालिकाको पर्याप्त ध्यान पुगेको छ, न वडा कार्यालयले नियमित अनुगमन तथा संरक्षणमा चासो देखाएको छ ।

स्थानीयको आरोप छ, बेल्वा बजारसँगै बजारसम्म पुग्ने बाटो पनि क्रमशः बेवास्ताको सिकार बनेको छ । कुनै समय स्थानीयको चहलपहल हुने महत्वपूर्ण हाटबजारसम्म पुग्ने सडक अहिले झाडीले छोपिँदै गएपछि बाटो नै हराउँदै गएको अनुभूति हुन थालेको उनीहरूको भनाइ छ ।

“नगरपालिकाको आँखा पर्यो न वडा कार्यालयको नजरमा पर्यो । बजारसँगै बाटो पनि हेपिएको छ । हेर्दाहेर्दै झाडीले बाटो छोपिन थालेको छ । अझै बेवास्ता गर्ने हो भने भोलि बाटो खोज्नुपर्ने अवस्था आउन सक्छ,” अर्की स्थानीय महिलाले आक्रोश पोखिन् ।

सरसफाइमा सहभागी स्थानीयहरूले सडक केवल आवतजावत गर्ने माध्यम मात्र नभई स्थानीय बजारको जीवनसँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएको बताएका छन् । बजार सञ्चालनका लागि बाटोको नियमित मर्मत, सरसफाइ, बत्ती तथा सुरक्षा व्यवस्थामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

सरसफाइका क्रममा एक वृद्धा आमाले बेल्वा हाटबजारको भविष्यप्रति चिन्ता व्यक्त गर्दै भावुक हुँदै भनिन्, “बाबु, अब हाम्रो बाटो र बजार कसले बचाउला ? कसले संरक्षण गर्ला ?”

उनका अनुसार बेल्वा हाटबजार पनि विगतको तुलनामा विस्तारै लोप हुँदै गएको महसुस हुन थालेको छ । स्थानीय उत्पादन, व्यापार तथा सर्वसाधारणको दैनिक आवश्यकतासँग जोडिएको पुरानो बजार संरक्षण र व्यवस्थित सञ्चालनका लागि स्थानीय तहले ठोस योजना बनाउनुपर्ने उनको भनाइ थियो ।

स्थानीयवासीले हाटबजारलाई व्यवस्थित गर्न नगरपालिकाले बजार क्षेत्रको पूर्वाधार विकास, सडक सरसफाइ, सडकबत्ती, सुरक्षा तथा नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । तर, जनप्रतिनिधि र सम्बन्धित शाखाको ध्यान बजार तथा त्यसतर्फ जाने बाटोको अवस्थाप्रति नपुग्दा स्थानीय आफैंले श्रमदान गरेर बाटो सफा गर्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

स्थानीय तहले विकासका नाममा विभिन्न क्षेत्रमा बजेट विनियोजन गरे पनि सर्वसाधारणले दैनिक प्रयोग गर्ने यस्ता आधारभूत सडक र सार्वजनिक स्थानको संरक्षणमा ध्यान नदिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् ।

आसमटोल विकास समितिको पहलमा भएको यो सरसफाइ अभियानले एउटा महत्वपूर्ण सन्देशसमेत दिएको छ—स्थानीय बासिन्दा आफ्नो गाउँ, बाटो र बजार जोगाउन तयार छन्, तर स्थानीय सरकारले आफ्नो जिम्मेवारी कहिले पूरा गर्ने ?

बेल्वा हाटबजार जाने बाटोको तत्काल सरसफाइ, नियमित मर्मतसम्भार र संरक्षणका लागि कोल्हवी नगरपालिका तथा वडा नं. ८ कार्यालयले अब पनि चासो नदिए स्थानीयको समस्या झन् गम्भीर बन्ने देखिन्छ । स्थानीयको श्रमदानले आज बाटो सफा भएको छ, तर बाटो र बजारलाई दीर्घकालीन रूपमा बचाउने जिम्मेवारी भने सम्बन्धित स्थानीय तहकै काँधमा रहेको स्थानीयवासीको भनाइ छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });