प्रदेश खबर बारा मधेस प्रदेश

बाराबाट विस्थापित तस्कर कुशवाहाको साम्राज्य बंकुल सीमामा फस्टाउँदै, विषाक्त फर्मोलिनयुक्त माछा निर्बाध नेपाल भित्रिँदै

असार ११, बारा । बारा जिल्लामा सहज रूपमा ‘लाइन’ नमिलेपछि सीमावर्ती रौतहटको बंकुल नाकालाई आधार बनाएर भारतबाट व्यापक रूपमा माछा, फूल तथा अन्य सामानको तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार बारा बरियारपुरका नामुद तस्कर सियाराम कुशवाहाले बंकुल सीमाक्षेत्रलाई केन्द्र बनाएर तस्करीको सञ्जाल विस्तार गरेका छन्।

स्रोतका अनुसार भारतको आन्ध्र प्रदेशबाट फर्मोलिन नामक घातक रसायन प्रयोग गरी लामो समयसम्म नकुहिने बनाइएका माछाहरू रक्सौल तथा घोडासहन क्षेत्र हुँदै नेपाल भित्र्याइँदै आएको छ। ती माछाहरू बंकुल नाका पार गराएर काठमाडौंसहित देशका विभिन्न मुख्य शहरमा पुर्‍याउने गरिएको बताइन्छ।

स्थानीयवासीहरूले सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र सम्बन्धित निकायका केही कर्मचारीसँग सेटिङ मिलाएर माछा मात्र नभई कपडा, हार्डवेयर, खाद्यान्न तथा मोबाइल पार्ट्ससमेत तस्करी गरिने गरेको आरोप लगाएका छन्। बंकुल प्रहरी चौकीको क्षेत्रबाट फर्मोलिनयुक्त माछा र फूल पिकअप भ्यानमा लोड गरी बारा हुँदै हेटौंडासम्म पुर्‍याइने गरेको दाबी स्रोतहरूको छ।

नेपालका माछा व्यवसायीहरूका अनुसार स्वदेशी उत्पादनको लागत महँगो हुनु, किसानले पर्याप्त सरकारी सहुलियत नपाउनु तथा सीमामा प्रभावकारी निगरानी नहुनुले भारतीय सस्तो माछाले नेपाली बजार ओगट्दै गएको छ। यसको प्रत्यक्ष असर नेपाली किसान तथा व्यवसायीमाथि परेको उनीहरूको भनाइ छ।

फर्मोलिन मानव स्वास्थ्यका लागि कति घातक ?

चिकित्सकहरूका अनुसार फर्मोलिन (Formaldehyde) एक प्रकारको रंगहीन तर तीव्र गन्धयुक्त रसायन हो, जुन सामान्यतः शव संरक्षण, औद्योगिक प्रयोग तथा कीटाणुनाशकका रूपमा प्रयोग गरिन्छ। माछालाई लामो समयसम्म ताजा देखाउन यसको प्रयोग गरिनु मानव स्वास्थ्यका लागि अत्यन्त खतरनाक मानिन्छ।

फर्मोलिनयुक्त माछाको सेवन गर्दा आँखा पोल्ने, घाँटी दुख्ने, खोकी लाग्ने, पेट दुख्ने, बान्ता हुने, आन्द्रामा चोट लाग्ने लगायतका समस्या देखिन सक्छन्। दीर्घकालीन रूपमा यसको असर कलेजो र मिर्गौलामा गम्भीर क्षति पुर्‍याउने, शरीरको डीएनए संरचनामा परिवर्तन ल्याउने तथा नाक, घाँटी र रगतको क्यान्सरसम्म गराउन सक्ने चिकित्सकीय अध्ययनहरूले देखाएका छन्।

विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले यस्तो विषाक्त माछा सेवन गर्दा गर्भमा रहेको शिशुको विकासमा समेत नकारात्मक असर पर्न सक्छ। त्यसैले उपभोक्ताहरूले अस्वाभाविक रूपमा सस्तो मूल्यमा बिक्री हुने तथा शंकास्पद स्रोतबाट आएका माछाप्रति विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

स्थानीयवासीहरूले बंकुल नाकाबाट भइरहेको भनिएको तस्करीबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण नगरेसम्म नेपाली बजारमा विषाक्त खाद्यवस्तुको प्रवेश रोक्न कठिन हुनेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *