बोधबन सडकमा विवाद : स्थानीयले रोके काम, नापजाँचपछि थप उठे प्रश्न
सुरज बिक्रम ,कोल्हबी, बारा । कोल्हबी नगरपालिका–५ स्थित बोधबनमा निर्माणाधीन सडक स्तरोन्नति योजना विवादमा तानिएको छ। निर्माण कार्य मापदण्डअनुसार नभएको आरोप लगाउँदै स्थानीयवासीले काम अवरुद्ध गरेपछि गरिएको नापजाँचले नै योजनामाथि थप प्रश्न खडा गरेको छ।
मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेटमा सञ्चालन भइरहेको उक्त योजनाअन्तर्गत महेन्द्र राजमार्गसँग जोडिने सडकमा कंक्रिट ढलानको काम भइरहेको थियो। स्थानीयवासीका अनुसार सडक निर्माणको सुरुआती चरणदेखि नै चौडाइ र बेस निर्माणमा कमजोरी देखिएको थियो। तर सम्बन्धित निकायले चासो नदेखाएपछि अन्ततः काम रोक्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
स्थानीयले काम रोकेपछि वडा अध्यक्ष नन्दकिशोर चौधरीको उपस्थितिमा सडकको नापजाँच गरिएको थियो। नापजाँचका क्रममा केही स्थानमा ढलान गरिएको सडकको चौडाइ निर्धारित ४ मिटरभन्दा करिब २ इन्च कम भेटिएको दाबी गरिएको छ।

स्थानीय झप्पु चौधरी, जोगिन्द्र मुखियालगायतले सडकको बेस निर्माणसमेत कमजोर रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सडकको दीर्घकालीन टिकाउपनाका लागि आवश्यक सामग्री प्रयोग नगरिएकाले भविष्यमा सडक चाँडै क्षतिग्रस्त हुने जोखिम रहेको छ।
विवादमा अर्को विषय सडकको डिजाइन र स्टिमेट पनि बनेको छ। स्थानीय तथा केही राजनीतिक प्रतिनिधिहरूले सडक निर्माणअघि प्रभावित क्षेत्रका बासिन्दासँग पर्याप्त छलफल नगरिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता सारजङ्ग (उत्तम) थापाले योजनाको सुरुदेखि नै पारदर्शिताको अभाव देखिएको टिप्पणी गरे।

यता निर्माण पक्षले भने आफूहरू स्वीकृत स्टिमेटअनुसार नै काम गरिरहेको दाबी गरेको छ। ठेकेदार बालेश्वर चौधरी र उपभोक्ता समिति अध्यक्ष बलराम अधिकारीका अनुसार सडक छेउमा रहेका पोखरी र जग्गा व्यवस्थापनको समस्याका कारण सडक चौडा बनाउन कठिनाइ भएको हो।
तर सडक आसपासका जग्गाधनीहरूले भने यस्तो दाबी अस्वीकार गरेका छन्। उनीहरूका अनुसार विकास निर्माणका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहे पनि कसैले औपचारिक रूपमा समन्वय नगरेको बताएका छन्।

विवाद बढ्दै गएपछि स्थानीयवासीले सडकको प्राविधिक परीक्षण गरी आवश्यक परे स्टिमेट नै संशोधन गर्न माग गरेका छन्। नगरपालिकाले प्रक्रिया पूरा गरी निवेदन प्राप्त भए पुनः मूल्याङ्कन गर्न सकिने जनाएको छ।
यसैबीच वडा अध्यक्ष नन्दकिशोर चौधरीले गुणस्तर र मापदण्डको विषयमा कुनै सम्झौता नहुने बताउँदै जनताको चित्त बुझ्ने गरी काम नभएसम्म योजनाको अन्तिम सिफारिस नदिने स्पष्ट पारेका छन्।
स्थानीयको विरोध, प्राविधिक प्रश्न र निर्माण पक्षको बचाउबीच बोधबन सडक योजना अहिले कोल्हबी क्षेत्रमा चासोको विषय बनेको छ। अब हुने प्राविधिक मूल्याङ्कन र सम्बन्धित निकायको निर्णयले विवादको निष्कर्ष तय गर्ने देखिएको छ।








