बारा मधेस प्रदेश

अपांगता भएका व्यक्तिका लागि कोल्हबी–५ को पहल, सहायक सामग्रीसहित सीपमूलक तालिम सञ्चालन

बारा, कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ ले अपांगता भएका व्यक्तिहरूको सहज जीवनयापन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सहायक सामग्री वितरण तथा सीपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा बाल तथा महिला सेवा केन्द्र महागढीमाई–१ को सहयोग रहेको थियो भने कार्यक्रमको आयोजना वडा कार्यालयले गरेको हो। कार्यक्रममा वडा अध्यक्ष नन्द किशोर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने नगर उप–प्रमुख लक्ष्मी कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेकी थिइन्।

वडा कार्यालयका अनुसार कार्यक्रममार्फत आवश्यकताका आधारमा विभिन्न सहायक सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीमध्ये ५ वटा बैशाखी, २ वटा वाकर, १ वटा श्रवण यन्त्र, ४ वटा सेतो छडी, २ वटा कमोड कुर्सी, ४ वटा ह्यान्ड स्टिक तथा २ थान ह्वीलचेयर रहेका छन्।

वडा कार्यालयका सहायक कर्मचारी जितेन्द्र चौधरीले अपांगता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी सामग्री उपलब्ध गराइएको जानकारी दिए। उनले कार्यक्रम अन्तर्गत लाभग्राहीहरूलाई आत्मनिर्भर बनाउन लक्षित सीपमूलक तालिमसमेत सञ्चालन गरिएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नन्द किशोर चौधरीले अपांगता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा समेट्ने दायित्व स्थानीय तहको भएको उल्लेख गरे। उनले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी नगर उप–प्रमुख लक्ष्मी कुमारी चौधरीले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार संवेदनशील रहेको बताइन्। उनले यस्ता कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले वडा कार्यालयको पहल प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले सहायक सामग्रीले दैनिक जीवन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *