ऐतिहासिक सिमरौनगढ संकटमा: ८०% सम्पदा नष्ट, संरक्षणका लागि सांसद धिमालको सरकारसँग कडा माग
संसदको शून्य समयमा बोल्दै सांसद धिमालले करिब एक हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ नेपालको मध्यकालीन इतिहास र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। उनले यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे।
उनका अनुसार २०६७ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जथाभावी पोखरी खन्ने कार्यका कारण सिमरौनगढका करिब ८० प्रतिशत पुरातात्त्विक सम्पदा नष्ट भइसकेका छन्। यसले ऐतिहासिक संरचनामा गम्भीर क्षति पुगेको भन्दै उनले प्राचीन पर्खालभित्र पोखरी खन्ने कार्य तत्काल रोक्नुपर्नेमा जोड दिए। साथै, वैकल्पिक कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।
धिमालले भु–भौतिक सर्वेक्षणबाट संवेदनशील ठहरिएका क्षेत्रहरूलाई तत्काल चारकिल्ला निर्धारण गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने बताए। साथै, पुरातात्त्विक उत्खनन र सम्पदा संरक्षणका लागि दीर्घकालीन गुरुयोजना निर्माण गर्नुपर्नेमा पनि उनको जोड थियो।
उनले सिमरौनगढमै पुरातत्व विभागको कार्यालय स्थापना गरी हालसम्म फेला परेका मूर्ति तथा अन्य पुरातात्त्विक अवशेषलाई संग्रहालयमार्फत व्यवस्थित रूपमा प्रदर्शन गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए। यसका लागि कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने उनको भनाइ छ।
दीर्घकालीन रूपमा सिमरौनगढ क्षेत्र विकास कोष ऐन तर्जुमा गर्नुपर्ने सुझाव दिँदै उनले यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे।
यसैबीच, सांसद धिमालले परिवर्तनका लागि मत दिएका मतदाताप्रति आभार व्यक्त गरेका छन्। विशेष गरी बारा क्षेत्र नम्बर १ अन्तर्गत निजगढ, कोल्हबी, बारागढी, आदर्श कोत्वाल र सिमरौनगढका मतदातालाई उनले धन्यवाद दिएका छन्।


