बारा मधेस प्रदेश

निजगढको होटलमा १९ वर्षीया युवती शंकास्पद अवस्थामा मृत फेला, अनुसन्धानमा दुई पुरुष र एक महिला नियन्त्रणमा

बाराको निजगढमा एक युवती होटलभित्र शंकास्पद अवस्थामा मृत फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ । निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलको कोठामा १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् ।

प्रहरीका अनुसार मृतक थिङ निजगढ नगरपालिका–१२ कोलगाउँकी बासिन्दा हुन् । प्रारम्भिक अनुसन्धानमा उनी एक युवकसँग होटलमा बसेको खुलेको छ । राति करिब ११ बजेतिर उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उपचारका लागि निजगढ सामुदायिक अस्पताल लगिएको भए पनि अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि ईलाका प्रहरी कार्यालय निजगढले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुमानअनुसार घाँटी थिचिएको हुन सक्ने आशंका गरिएको भए पनि वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।

यस घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा होटलमा उनीसँगै रहेका दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको पहिचान सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासीले होटलहरूको सुरक्षा व्यवस्था, निगरानी प्रणाली र अनियमित गतिविधिबारे प्रश्न उठाएका छन् । प्रहरीले होटलका कर्मचारी, आगन्तुक विवरण तथा घटनास्थलका अन्य पक्षहरूमाथि समेत विस्तृत अनुसन्धान अघि बढाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गरिने र दोषी प्रमाणित भए कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *