“पदमा हुँदा कमिशन, अहिले बजेट आउँदा राजनीति गर्दै बलराम अधिकारी”
कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ का पूर्व वडा सदस्य बलराम अधिकारीमाथि आफ्नो कार्यकालमा विकास निर्माणभन्दा कमिशनमुखी गतिविधिमा संलग्न रहेको आरोप स्थानीयवासीहरूले लगाएका छन् । स्थानीयका अनुसार पदमा रहँदा आवश्यक क्षेत्रमा भन्दा पहुँच र स्वार्थ मिल्ने ठाउँमा बजेट हालिएको थियो ।
स्थानीय बासिन्दाहरूले बन तथा जंगल क्षेत्रमा पर्ने, अतिक्रमण भएको स्थानमा समेत सडक तथा अन्य योजनाको बजेट हालिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार वास्तविक आवश्यकता भएका बस्ती तथा आवतजावतमा समस्या रहेका सडकमा बजेट नपुगे पनि विवादित तथा कम उपयोग हुने क्षेत्रमा योजना सञ्चालन गरिएको थियो ।
त्यस्तै, तत्कालीन समयमा अधिकारी स्वयं उपभोक्ता समितिको अध्यक्ष बसेर योजनामा संलग्न भएको विषयलाई लिएर पनि स्थानीय स्तरमा प्रश्न उठ्ने गरेको छ । जनप्रतिनिधि आफैं उपभोक्ता समितिमा बसेर काम गर्नु नैतिक रूपमा उपयुक्त नभएको भन्दै स्थानीयहरूले आलोचना गरेका छन् ।
स्थानीयका अनुसार सडक स्तरोन्नति लगायतका योजनाका लागि बजेट ल्याउन सक्ने अवस्था हुँदाहुँदै पनि जनअपेक्षा अनुसार काम हुन सकेको थिएन । अहिले भने वडा तथा नगरस्तरबाट सडक स्तरोन्नतिको बजेट आउन थालेपछि पूर्व वडा सदस्य अधिकारीले सार्वजनिक रूपमा टिप्पणी गर्दै राजनीतिक माहोल बनाउन खोजेको भन्दै स्थानीय तहमा चर्चा सुरु भएको छ ।
स्थानीय सरोकारवालाहरूले विकास निर्माणको विषयलाई राजनीतिक प्रचारको माध्यम नबनाई आवश्यक क्षेत्रमा पारदर्शी ढंगले बजेट परिचालन गर्नुपर्ने बताएका छन् ।







