१५ दिनदेखि अन्धकारमा कोल्हबी–८ : चरम गर्मीमा बेल्वा बजारका स्थानीय आक्रोशित, माछा कृषक तथा सामाजिक अभियन्ता अनिल भण्डारीको नेतृत्वमा आन्दोलनको चेतावनी
बारा, कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ८ अन्तर्गत बेल्वा बजार तथा आसपासका क्षेत्रका स्थानीयवासी विगत १५ दिनदेखि लगातार विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुँदा चरम समस्यामा परेका छन्। अत्यधिक गर्मी र उकुसमुकुसपूर्ण मौसमका बीच यति लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन नै अस्तव्यस्त बनेको भन्दै स्थानीयले नेपाल विद्युत प्राधिकरण, स्थानीय प्रशासन तथा सम्बन्धित निकायप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।
स्थानीयका अनुसार दिनहुँ ४० डिग्री नजिकको गर्मी भइरहेका बेला दुई साताभन्दा बढी समयदेखि विद्युत नहुँदा बालबालिका रातभर सुत्न नसक्ने, अध्ययन गर्न नपाउने तथा वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। गर्मीकै कारण धेरै घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएको स्थानीयको भनाइ छ।
विद्युत सेवा ठप्प हुँदा खानेपानीको समस्या पनि गम्भीर बन्दै गएको छ। अधिकांश स्थानमा मोटरबाट पानी तान्ने व्यवस्था रहेकाले विद्युत नहुँदा पिउने पानीको अभाव चुलिएको छ। स्थानीय व्यापारीहरूका अनुसार फ्रिज, फ्रीजर, कम्प्युटर, इन्टरनेट लगायतका सेवा बन्द हुँदा व्यापार–व्यवसाय नराम्ररी प्रभावित बनेको छ। साना उद्योग, पसल तथा दैनिक आम्दानीमा निर्भर व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा परेका छन्।
स्थानीयवासीले यस क्षेत्रमा सामान्य हावा चलेर रुखका पात हल्लिँदा समेत दुई–तीन दिनसम्म लाइन जाने समस्या वर्षौंदेखि दोहोरिँदै आएको बताएका छन्। तर पटक–पटक गुनासो गर्दा पनि नेपाल विद्युत प्राधिकरणले दीर्घकालीन समाधानतर्फ कुनै चासो नदिएको उनीहरूको आरोप छ। अहिलेको जस्तो संवेदनशील र अत्यधिक गर्मीको समयमा समेत समस्या समाधानमा उदासीनता देखाइनु गैरजिम्मेवार र जनताप्रति लापरवाही भएको स्थानीयको भनाइ छ।
माछा कृषक तथा सामाजिक अभियन्ता अनिल भण्डारीको नेतृत्वमा स्थानीयवासीहरूले नेपाल विद्युत प्राधिकरण बारा वितरण केन्द्र, कोल्हबी नगरपालिका, वडा कार्यालय तथा सम्बन्धित जनप्रतिनिधिहरूसँग तत्काल विद्युत सेवा सुचारु गर्न जोडदार माग गरेका छन्। उनीहरूले आफूहरू नियमित रूपमा विद्युत महसुल तिर्दै आएको भए पनि आधारभूत सेवाबाट वञ्चित हुनुपरेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्।
“हामी पनि यही देशका नागरिक हौं, नियमित महसुल बुझाउने उपभोक्ता हौं। तर हाम्रो समस्यालाई किन यति धेरै बेवास्ता गरिँदैछ ?” स्थानीयको प्रश्न छ।
स्थानीयहरूले अब पनि समस्या समाधानमा ढिलाइ गरिए चुप लागेर नबस्ने चेतावनी दिएका छन्। माछा कृषक तथा सामाजिक अभियन्ता अनिल भण्डारीले तत्काल विद्युत सेवा सुचारु नगरिए कोल्हबी–८ का सम्पूर्ण पीडित उपभोक्ताहरूलाई एकजुट गरी सशक्त आन्दोलन, धर्ना, तालाबन्दी तथा विरोध कार्यक्रम गर्न बाध्य हुने बताएका छन्। उनले जनताको आधारभूत आवश्यकता र समस्याप्रति सम्बन्धित निकाय संवेदनशील नभए थप कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिएका छन्।







