बारा

गरिमालाई न्याय माग्दै बारामा उग्र प्रदर्शन, सडकमा टायर बालेर यातायात अवरुद्ध

सुरज बिक्रम,बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बारामा स्थानीयको आक्रोश बढ्दै गएको छ। दोषीलाई कडा कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै बिहीबार जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा प्रदर्शन तथा सडक अवरोध गरिएको छ।

घटनाको विरोधमा आन्दोलनरत स्थानीयले उपमहानगरपालिकाभित्रका विभिन्न ग्रामीण सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका छन्। बालिकाको हत्या जस्तो जघन्य घटनामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन्।

गरिमाको न्यायका लागि जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयसमेत आन्दोलनमा ऐक्यबद्ध भएका छन्। विभिन्न विद्यालयले शोकसभा आयोजना गर्दै विद्यालय बन्द गरेका छन्। विद्यालय परिवारले बालिकाको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ।

यता, गरिमाको खोजीका क्रममा प्रहरीले प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीमाथि समेत छानबिन तथा कारबाहीको माग गरेका छन्। प्रदर्शनकारीले प्रहरी कार्यालय घेराउ गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।

गरिमा चौधरीलाई न्यायको माग गर्दै बाराबाहेक रौतहटको डुमरियामा समेत प्रदर्शन भएको छ। घटनालाई लिएर स्थानीय तहदेखि जिल्ला तहसम्म आक्रोश बढिरहेका बेला आन्दोलनको प्रभाव बाराका विभिन्न सडक तथा बजार क्षेत्रमा परेको छ।

Screenshot

आन्दोलनका कारण सिमरा–डुमरवाना, सिमरा–जीतपुर, सिमरा–कलैया, कोल्हवी, पिलुवा–वडहर्वा तथा पथलैया–सिमरा सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रदर्शनकारीले सडकमा टायर बालेर सवारी आवागमन अवरुद्ध गरेपछि लामो दूरीका यात्रु तथा स्थानीय सर्वसाधारणसमेत समस्यामा परेका छन्।

स्थानीयको प्रदर्शनले पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएको छ। यसअघि बुधबारदेखि नै वीरगन्ज–पथलैया सडकखण्डमा यातायात अवरुद्ध हुँदै आएको थियो। लगातारको सडक अवरोधका कारण राजमार्गमा सवारीसाधनको आवागमन प्रभावित बनेको छ।

आन्दोलनरत स्थानीयले गरिमा चौधरीको हत्यामा संलग्न सबै व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। साथै, बालिका हराएको समयदेखि शव फेला नपर्दासम्म प्रहरीको अनुसन्धान तथा खोजी प्रक्रियामा भएका कमजोरीबारे समेत निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।

स्थानीयले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूले न्याय प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने आन्दोलनरत पक्षसँग माग सम्बोधनका विषयमा छलफल भइरहेको बताएका छन्। उनका अनुसार आन्दोलनकारीका मागबारे सम्बन्धित पक्षसँग समन्वय गरी निर्णायक वार्ताको तयारी भइरहेको छ।

गरिमा चौधरी हत्या प्रकरणले अहिले बाराको सामाजिक वातावरणसमेत तरंगित बनेको छ। घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र प्रहरीको भूमिकाबारे छानबिनको माग गर्दै विभिन्न क्षेत्रबाट आवाज उठिरहेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });