डेंगु नियन्त्रण अभियान बजारमै सीमित भएको स्थानीयको गुनासो, ११ वटै वडामा समान कार्यक्रम सञ्चालन गर्न माग
कोल्हवी (बारा), असार २०। कोल्हवी नगरपालिकाले डेंगु तथा मलेरिया नियन्त्रणका लागि बजार क्षेत्रमा खोजपडताल, लार्भा नष्ट तथा औषधि छर्ने अभियान सुरु गरेको छ। स्वास्थ्य सुरक्षाका हिसाबले अभियानलाई सकारात्मक रूपमा हेरिए पनि कार्यक्रम नगरपालिकाभित्रका सबै वडामा समान रूपमा विस्तार नगरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
कोल्हवी नगरपालिकाका ल्याब शाखा प्रमुख राम सेवक साहका अनुसार गत वर्ष नगरपालिकामा १८ जना डेंगु र १० जना मलेरिया संक्रमित भेटिएपछि यस वर्ष प्रदेश सरकार र नगरपालिकाको समन्वयमा रोग नियन्त्रण अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत संक्रमित भेटिएका तथा लामखुट्टेको प्रजनन हुने जोखिमयुक्त क्षेत्रमा औषधि छर्ने, लार्भा नष्ट गर्ने र जनचेतना फैलाउने कार्य भइरहेको छ।

तर, एक स्थानीयका अनुसार आइतबार सञ्चालन गरिएको अभियान कोल्हवी बजारभित्र र आसपासका क्षेत्रमा मात्रै केन्द्रित भएर सकिएको छ। “कोल्हवी नगरपालिका भनेको बजार मात्र होइन, ११ वटा वडाको साझा स्थानीय सरकार हो। तर कार्यक्रम भने बजार र छेउछाउमै सीमित हुने गरेको छ,” उनले गुनासो गरे।

समाजसेवी रविन्द्र चौधरी ले नगरपालिकाको विकास शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “कोल्हवी नगरपालिकाका धेरै कार्यक्रम, आयोजना र अनुदान सीमित संस्था तथा मेयर निकट व्यक्तिहरूले मात्रै पाउने गरेको अनुभूति स्थानीयमा छ। ११ वटै वडालाई समान रूपमा हेर्ने अभ्यास देखिएको छैन। चुनाव आउने बेला मात्रै सबै वडा सम्झिने, त्यसबाहेक गाउँ–टोलका समस्या ओझेलमा पर्ने अवस्था छ। अब स्थानीय तहको निर्वाचन नजिकिँदै छ, सायद अब फेरि सबै वडा सम्झिनु हुला भन्ने आशा गरेका छौं।”

उनले नगरपालिकाले बजार केन्द्रित सोचबाट बाहिर ननिस्किएसम्म समग्र कोल्हवीको समान विकास सम्भव नहुने दाबी गरे। स्वास्थ्य, कृषि, पूर्वाधार, अनुदान, तालिम तथा अन्य नगरस्तरीय कार्यक्रम ११ वटै वडामा समान पहुँचका आधारमा सञ्चालन गर्नुपर्ने उनको माग छ।

स्थानीयवासीका अनुसार नगरपालिकाको नाममा सञ्चालन हुने कार्यक्रमहरू कुनै निश्चित क्षेत्र वा समूहमा मात्र केन्द्रित हुँदा दुर्गम तथा ग्रामीण वडाका नागरिकले आफूहरू उपेक्षित भएको महसुस गर्दै आएका छन्। उनीहरूले स्वास्थ्य अभियानसमेत सबै वडामा जोखिमका आधारमा विस्तार गर्न नगरपालिकासँग माग गरेका छन्।

यस विषयमा नगर प्रमुख रामप्रसाद चौधरी को धारणा बुझ्न पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएको भए पनि समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन। उहाँको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि यथावत् प्रकाशित गरिनेछ।
स्थानीयले नगरपालिकाले उठेका गुनासा गम्भीरतापूर्वक सम्बोधन गर्दै विकास, स्वास्थ्य सेवा, अनुदान र जनहितका कार्यक्रमहरू ११ वटै वडामा समान रूपमा पुर्याउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।








