६ शिक्षक, कक्षामा मुट्ठीभर विद्यार्थी : कुमरगढीको विद्यालयले उठायो शिक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
कोल्हवी, बारा। बाराको कोल्हवी नगरपालिका–६ कुमरगढीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गरिएको स्थलगत अनुगमनले सरकारी विद्यालयको अवस्था, शिक्षक व्यवस्थापन तथा सार्वजनिक शिक्षामा भइरहेको राज्यको लगानीको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर कमिटीका सभापति थानेश्वर पहाडी, उपसभापति जितन चौधरी लगायतको टोलीले विद्यालयको स्थलगत अनुगमन गर्दै हाजिरी विवरण, कक्षाकोठाको अवस्था तथा शिक्षक उपस्थितिको अवलोकन गरेको जनाएको छ।

अनुगमनका क्रममा विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेको भेटिएको छ। तर विद्यार्थी उपस्थितिको अवस्था भने निकै कमजोर देखिएको छ। प्राप्त विवरणअनुसार बाल विकास कक्षामा ३८ जना नामावली भए पनि १३ जना मात्र उपस्थित थिए। त्यसैगरी कक्षा १ मा १० जना, कक्षा २ मा ४ जना, कक्षा ३ मा १ जना, कक्षा ४ मा ६ जना र कक्षा ५ मा १२ जना विद्यार्थी मात्र कक्षामा उपस्थित थिए।
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद चौधरी हुन्। अनुगमन टोलीले शिक्षक संख्या र विद्यार्थी उपस्थितिबीचको ठूलो अन्तरले विद्यालय सञ्चालन, शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर तथा सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगबारे गम्भीर समीक्षा आवश्यक रहेको जनाएको छ।
अनुगमनका क्रममा रास्वपा कोल्हवी नगर कमिटीका उपसभापति जितन चौधरीले शिक्षा क्षेत्रमा देखिएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो फोहर राजनीति हुनु दुःखद हो। यसलाई सुधार्न सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले गम्भीर चासो देखाउनुपर्छ। पटक–पटक समस्या उठाउँदा पनि यहाँ सुनुवाइ भएको देखिँदैन।”
उनले सरकारी विद्यालयको अवस्था सुधार्न शिक्षक व्यवस्थापन, विद्यार्थी आकर्षण, शैक्षिक गुणस्तर र जवाफदेहितामा केन्द्रित सुधार कार्यक्रम तत्काल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
यस विषयमा प्रतिक्रिया लिन कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन।
त्यसैगरी कोल्हवी नगरपालिकाका शिक्षा शाखा प्रमुख मिश्रीलाल शाहसँग प्रतिक्रिया माग्दा उनले “यो विषयमा राजनीतिक हस्तक्षेप भइरहेको छ” भन्ने प्रतिक्रिया दिएका थिए। विद्यालयको अवस्था, विद्यार्थी संख्या, शिक्षक व्यवस्थापन तथा नगरपालिकाले अवलम्बन गर्ने सुधार योजनाबारे थप जिज्ञासा राख्दा स्पष्ट जवाफ नदिई संवाद टुंगिएको देखिएको छ।

स्थानीयवासीका अनुसार सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै जानु, अभिभावक निजी विद्यालयतर्फ आकर्षित हुनु तथा अधिकांश कक्षामा न्यून उपस्थिति रहनुले सार्वजनिक शिक्षाप्रतिको विश्वास कमजोर बन्दै गएको संकेत गर्छ। उनीहरूले विद्यालयको वास्तविक अवस्था, शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर, विद्यार्थी आकर्षण कार्यक्रम तथा सार्वजनिक स्रोत–साधनको उपयोगबारे निष्पक्ष अध्ययन र आवश्यक सुधारका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।
अनुगमन टोलीले पनि विद्यालयको वास्तविक अवस्था सार्वजनिक गरी शिक्षा क्षेत्रमा गरिएको राज्यको लगानीको प्रतिफल सुनिश्चित गर्न सम्बन्धित निकायले जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएको छ।








