कोल्हबीमा तामागढी साकोसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
सुरज बिक्रम,, कोल्हबी । ५४औँ विश्व वातावरण दिवसको अवसर पारेर कोल्हबी नगरपालिका–१, कोल्हबीमा मुख्य कार्यालय रहेको मधेस प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा परिचित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र कोल्हबी, सपही माध्यमिक विद्यालय तथा नयाँबस्तीस्थित नागेश्वर महादेव मन्दिर (नयाँबस्ती पार्क) परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका सचिव रामकाजी खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी सहभागी हुनुहुन्थ्यो। नगरप्रमुख चौधरीकै बाहुलीबाट वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रममा कोल्हबी नगरपालिका–१ का वडा अध्यक्ष राजहरण चौधरी, संस्थाका उपाध्यक्ष कालिका दवाडी भण्डारी, सदस्य नन्दलाल चौधरी, लेखा समिति संयोजक पृथ्वीराज शिवाकोटी, प्राथमिक स्वास्थ्य केन्द्र कोल्हबीका प्रमुख मनोज चौधरीलगायत संस्थाका कर्मचारी, सपही माविका शिक्षक–शिक्षिका, विद्यार्थी, पत्रकार तथा सशस्त्र प्रहरीको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले तामागढी साकोसले वित्तीय कारोबारमा मात्र सीमित नरही समाजमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले संस्थाले समाजमा उदाहरणीय काम गर्दै आएको बताउँदै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालका अनुसार कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र कोल्हबी, सपही मावि तथा नागेश्वर महादेव मन्दिर परिसरका लागि १५० भन्दा बढी विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको थियो।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको स्थानीयवासीले समेत प्रशंसा गरेका छन्।







