प्रदेश खबर बारा मधेस प्रदेश

करैयामाईमा जेठ ३१ देखि गोल्डकप

सुरज बिक्रम ,कोल्हवि । बारा जिल्लाको करैयामाई गाउँपालिका खेलकुदमय बन्ने तयारीमा रहेको छ । युवाहरूलाई खेलमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजना हुन लागेको “तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेलकुदको विकाससँगै स्थानीय प्रतिभालाई अवसर दिने, सामाजिक सद्भाव र सहकार्यलाई मजबुत बनाउने तथा करैयामाईलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नवजन प्रगति युवा क्लबका उपाध्यक्ष तथा कार्यक्रमका सभापति मनिन्द्र चौधरीले प्रतियोगिताले गाउँस्तरमा खेल संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई कुलतबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका शिक्षा प्रमुख उमेश यादवले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सिर्जनशीलता विकास गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए।

आयोजकका अनुसार प्रतियोगिता जेठ ३१ गतेदेखि सुरु भएर असार ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितालाई अझ आकर्षक बनाउन फाइनल खेलको एक दिनअघि असार ७ गते चितवन र रौतहटका महिला टोलीबीच विशेष मैत्रीपूर्ण महिला फुटबल खेलसमेत आयोजना गरिने भएको छ।

प्रतियोगितामा विभिन्न जिल्लाका ९ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा एपिएफ बर्दिवास, वीरगञ्ज सिटी क्लब, वीरगञ्ज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी, बकुलिया–११, एनजेजेवाइसी सिमरा, अल्टोकी फुटबल क्लब रौतहट, नवजन प्रगति युवा क्लब करैयामाई–७ बारा तथा सनराइजिङ करैयामाई–७ बारा रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले ७० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख १० हजार रुपैयाँको बजेट अनुमान गरिएको छ।

कार्यक्रममा सहयोगी संस्थाका रूपमा श्री नवजन प्रगति युवा क्लब, करैयामाई युवा समाज र बारा फाउन्डेसन रहेका छन्। पत्रकार सम्मेलनमा नवजन प्रगति युवा क्लबका अध्यक्ष रुपनारायण प्रसाद यादव, करैयामाई युवा समाजका अध्यक्ष चान्द बाबु अन्सारी, बारा फाउन्डेसनकी अध्यक्ष मुना चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव गोपाल चौधरीले गरेका थिए। प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कममार्फत गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *