अजित महतो धरौटीमा रिहा, मुद्दा कायमै
कलैया, साउन ४ । रु १४ लाखभन्दा बढी रकम ठगी गरेको आरोप लागेका बिदिया मिडियाका सञ्चालक अजित कुमार महतो जिल्ला अदालत बाराबाट रु १ लाख धरौटी बुझाएर तारिखमा रिहा भएका छन्।
बारा जिल्लाको साविक उचिडिहि गाविस, हाल सिम्रौनगढ नगरपालिका–६ निवासी ३२ वर्षीय महतोविरुद्ध सिम्रौनगढ नगरपालिका–७, खजानी निवासी देवेन्द्र दास तत्माले ठगीसम्बन्धी मुद्दा दायर गरेका हुन्।
जाहेरीअनुसार ट्रक भाडा तथा अन्य आर्थिक कारोबारका क्रममा विश्वासमा पारी महतोले विभिन्न मितिमा पटक–पटक गरी रु १४ लाख ७८ हजार ३०० लिएको आरोप लगाइएको छ। उक्त रकम महालक्ष्मी विकास बैंकमा रहेको महतोको खातासहित अन्य बैंक खाता तथा ई–सेवा (eSewa) मार्फत भुक्तानी गरिएको दाबी गरिएको छ।
मुद्दामा संलग्न कागजातअनुसार विभिन्न बैंक खाता र क्यूआर कोडमार्फत रकम स्थानान्तरण भएको उल्लेख गरिएको छ। जाहेरवालाले आफूले दिएको रकममध्ये केही फिर्ता प्राप्त भए पनि ठूलो रकम अझै बाँकी रहेको भन्दै ठगी भएको दाबी गरेका छन्।
यता, अभियुक्त महतोले अदालतसमक्ष दिएको बयानमा भने आफूले कुनै ठगी नगरेको जिकिर गरेका छन्। उनले आफूले प्राप्त गरेको रकम ट्रक ढुवानी तथा व्यावसायिक कारोबारसँग सम्बन्धित रहेको र आफूलाई नियतवश झुटा विवरणका आधारमा मुद्दामा फसाइएको दाबी गरेका छन्।
मुद्दाको प्रारम्भिक सुनुवाइपछि जिल्ला अदालत बाराले महतोलाई रु १ लाख धरौटीमा रिहा गर्दै तारिखमा राखी थप कानुनी प्रक्रिया अघि बढाउने आदेश दिएको छ।








