मधेस प्रदेश प्रहरीमा विवाद चर्कियो : निलम्बन रोकियो, तस्करी सेटिङदेखि शक्ति संघर्षसम्म छानबिन
मधेस प्रदेश प्रहरी संगठनभित्र आर्थिक लेनदेन, तस्करी सेटिङ तथा आन्तरिक शक्ति संघर्षसँग सम्बन्धित विवाद थप पेचिलो बनेको छ। पछिल्ला घटनाक्रमले संगठनभित्रको तनाव सार्वजनिक रूपमा सतहमा आएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणामाथि गरिएको निलम्बन सिफारिसलाई प्रहरी प्रधान कार्यालयले तत्काल कार्यान्वयन नगरेको स्रोतको दाबी छ। प्रारम्भिक अध्ययनका क्रममा थप प्रमाण आवश्यक देखिएकाले हतारमा निर्णय नगर्ने नीति लिइएको बताइएको छ। यससँगै राणालाई योजनाबद्ध रूपमा फसाउने प्रयास सफल हुन नसकेको चर्चा प्रहरी वृत्तमा चलिरहेको छ।
विवादास्पद अडियो प्रकरणपछि नाम जोडिएका वरिष्ठ सई गोपाल थापा मगर र सई जायलाल यादवलाई भने प्रहरी मुख्यालय बोलाइएको जनाइएको छ। उनीहरूमाथि आर्थिक लेनदेन, प्रभाव प्रयोग तथा कमान्ड संरचनाबाहिर गतिविधि गरेको आरोपमा छानबिन अघि बढाइएको बताइन्छ।
उता मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियामाथि पनि आफ्ना निकट व्यक्तिमार्फत तस्करी सेटिङ मिलाएको आरोप लागेको छ। तर उनले आरोप अस्वीकार गर्दै सत्यतथ्य अनुसन्धानबाट सबै कुरा स्पष्ट हुने प्रतिक्रिया दिएका छन्।
यस घटनाले मधेस प्रदेश प्रहरीभित्रको गम्भीर आन्तरिक द्वन्द्व उजागर गरेको छ। प्रहरी प्रधान कार्यालयले अडियो परीक्षण, आर्थिक कारोबारको विवरण तथा सम्बन्धित अधिकारीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाइएको छ।






