मिर्गौला पीडित भाइको सम्पत्ति खोसे एमाले नेता, साथ दिए एमालेकै वडा अध्यक्षले
सुरज बिक्रम, कोल्हवि । कोल्हबी नगरपालिका वडा नं. ८ मा पैतृक सम्पत्ति नामसारीलाई लिएर गम्भीर विवाद सार्वजनिक भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष रुद्र प्रसाद बजगाईंमाथि आफ्नी आमालाई अस्पतालको भेन्टिलेटरमा रहेका बेला जग्गा–जमिन आफ्नो नाममा पास गराएको आरोप लागेको हो।
यस प्रकरणमा वडा कार्यालयकै सिफारिस र कागजी प्रक्रिया प्रयोग गरिएको भन्दै वडा प्रमुख अनुप सुवेदीसमेत विवादमा तानिएका छन्। सार्वजनिक भएका कागजातअनुसार वडा कार्यालयबाट मालपोत कार्यालयलाई सिफारिस पत्र पठाएर जग्गा नामसारी प्रक्रियामा सहयोग गरिएको देखिएको छ।

प्राप्त पत्रमा कोल्हबी नगरपालिका वडा नं. ८ कार्यालयबाट मालपोत कार्यालय, कलैयालाई सम्बोधन गर्दै रुद्र प्रसाद बजगाईंको नाममा जग्गा दर्ता कायम गर्न सिफारिस गरिएको उल्लेख छ। उक्त पत्रमा उनकी आमा लक्ष्मी माया बजगाईंको मृत्यु भइसकेको र शेषपछिको बकसपत्रका आधारमा जग्गा दर्ता गर्न अनुरोध गरिएको देखिन्छ।
स्थानीयवासीका अनुसार आमाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेका बेला सम्पूर्ण प्रक्रिया अघि बढाइएको थियो। पीडित पक्षले भने “दाजुभाइबीच बराबरी रूपमा बाँडफाँट हुनुपर्ने पैतृक सम्पत्ति प्रभाव र पहुँच प्रयोग गरेर एकल रूपमा आफ्नो नाममा पारिएको” आरोप लगाएका छन्।
घटनामा वडा कार्यालयको भूमिका शंकास्पद रहेको भन्दै स्थानीय स्तरमा व्यापक चर्चा भइरहेको छ। एमालेबाट निर्वाचित वडा प्रमुख अनुप सुवेदीले वडा कार्यालयमार्फत सिफारिस प्रक्रिया अघि बढाएको आरोप पीडित पक्षको छ।

घटनाबारे बुझ्न वडा कार्यालय पुग्दा वडा प्रमुख अनुप सुवेदीले “सबै कागजी प्रक्रिया पूरा भएको छ, अब यसमा कुनै कानुनी समस्या हुँदैन” भन्दै स्पष्ट जवाफ दिन नचाहेको स्थानीयहरूको आरोप छ।
उता, रुद्र प्रसाद बजगाईंले पनि “सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ, अब केही हुँदैन” भन्दै आफू ढुक्क रहेको प्रतिक्रिया दिएको स्रोतले जनाएको छ। उनले आफूले बाबु–आमाको हेरचाह, उपचार र भाइहरूको जिम्मेवारी उठाएकाले सम्पत्तिमा आफ्नो अधिकार बढी रहेको दाबी गरेका छन्।
तर उनका भाइहरूले भने आफूहरू पनि कानुनी रूपमा समान हकदार भएकाले पैतृक सम्पत्तिमा बराबरी हिस्सा पाउनुपर्ने बताएका छन्। “प्रचलित कानुन अनुसार सबै दाजुभाइले बराबरी हिस्सा पाउनुपर्ने हो, तर यहाँ कागजी प्रक्रिया मिलाएर सम्पूर्ण सम्पत्ति आफ्नो नाममा पारिएको छ,” पीडित पक्षको भनाइ छ।
यसबीच, रुद्र प्रसाद बजगाईंका माइलो भाइ होम प्रसाद बजगाईं मिर्गौला रोगबाट पीडित रहेको तथ्यसमेत बाहिर आएको छ। गम्भीर स्वास्थ्य समस्या झेलिरहेका भाइको अवस्थासमेत बेवास्ता गर्दै सम्पूर्ण सम्पत्ति आफ्नो नाममा पारिएको भन्दै स्थानीय स्तरमा थप आलोचना भइरहेको छ।

विवाद चर्किँदै गएपछि रुद्र प्रसाद बजगाईंले आफ्नै भाइहरूविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिएको समेत खुलेको छ। प्रहरीमा पुगेपछि मात्रै घटनाको विषय बाहिर आएको स्थानीयहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार यति ठूलो विवाद सार्वजनिक हुँदासमेत वडा कार्यालय तथा सम्बन्धित राजनीतिक पक्षबाट स्पष्ट धारणा आएको छैन। यस विषयमा नेकपा एमालेको प्रतिक्रिया लिन खोज्दा समेत पार्टीका जिम्मेवार नेताहरू सम्पर्कमा आउन नचाहेको आरोपसमेत स्थानीयहरूले लगाएका छन्।
पीडित पक्षले अब वडा कमिटी अध्यक्ष रुद्र प्रसाद बजगाईं तथा वडा प्रमुख अनुप सुवेदीविरुद्ध सम्बन्धित निकायमा औपचारिक उजुरी दिने तयारी गरिरहेको जनाएको छ।
घटनाले अहिले कोल्हबी–८ मा व्यापक चर्चा पाएको छ। स्थानीयवासीले निष्पक्ष छानबिन, कागजी प्रक्रिया जाँच तथा वास्तविक हकदारलाई न्याय दिनुपर्ने माग गरेका छन्।







