अदालतको सुरक्षा आदेशपछि पनि पीडितको गुनासो: “धम्की र कुटपिट रोकिएन”
कलैया | असार २७
बाराको सुवर्ण गाउँपालिका–८ निवासी सुरजकली देवीले अदालत र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा व्यवस्था गर्न निर्देशन जारी भइसके पनि आफू अझै असुरक्षित अवस्थामा बाँच्न बाध्य भएको गुनासो गरेकी छन्।
बाटो विवादसँग सम्बन्धित घटनापछि आफूमाथि निरन्तर धम्की, दुर्व्यवहार र कुटपिट भइरहेको भन्दै उनले सम्बन्धित निकायसँग प्रभावकारी सुरक्षा र निष्पक्ष न्यायको माग गरेकी हुन्।
सुरजकली देवीका अनुसार विपक्षी लालदेव पण्डित कुम्हार, विक्रम पण्डित कुम्हारलगायतका व्यक्तिहरूले बाटो विवादलाई लिएर आफूलाई बोक्सीको आरोप लगाउने, खेतीपाती गर्न जाँदा अवरोध सिर्जना गर्ने, गालीगलौज गर्ने तथा पटक–पटक कुटपिट गर्ने गरेका छन्। उनले रातिको समयमा घरमा पुगेर ढोकामा प्रहार गर्ने र ज्यान मार्ने धम्कीसमेत दिने गरेको आरोप लगाएकी छन्।
यस घटनासम्बन्धी अपमानजनक व्यवहारसम्बन्धी कसुरको मुद्दा हाल बारा जिल्ला अदालतमा विचाराधीन रहेको छ। अदालतले २०८३ साउन ७ गते जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गर्दै पीडित र उनको परिवारको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको अदालतको पत्रमा उल्लेख छ।
अदालतले पठाएको पत्रमा मुद्दा फिर्ता लिन दबाब दिने, जाहेरवाला र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएको भन्ने विषय उल्लेख गर्दै आवश्यक सुरक्षा निगरानी कायम गर्न प्रहरीलाई निर्देशन दिइएको जनाइएको छ।
अदालतको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय बाराले पनि प्रहरी चौकी तेलकुवालाई सुरजकली देवीको घर वरिपरि आवश्यक सुरक्षा व्यवस्था मिलाउन लिखित निर्देशन दिएको बताइएको छ।
तर, ती सबै निर्देशन व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको पीडितको दाबी छ। सुरक्षा पाउनुपर्ने अवस्थामा उल्टै विपक्षीबाट निरन्तर धम्की, मानसिक तनाव र दबाब खेप्नुपरेको उनले बताइन्।
“एक वर्षदेखि प्रहरी र अदालत धाइरहेकी छु। गरिब र असहाय परिवार भएकाले न्याय पाउन झन् कठिन भएको छ। अदालत र प्रहरीले सुरक्षा दिन पत्र पठाए पनि गाउँमा अझै डर र त्रासकै वातावरण छ,” सुरजकली देवीले बताइन्।
हाल उक्त बाटो विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले घटनाको अन्तिम कानुनी निष्कर्ष आउन बाँकी छ। पीडितले आफ्नो परिवारको जिउ–ज्यानको सुरक्षा सुनिश्चित गर्दै कानुनबमोजिम निष्पक्ष न्याय दिलाइदिन सम्बन्धित निकायसँग पुनः आग्रह गरेकी छन्।
यस विषयमा विपक्षी पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समावेश गरिनेछ।








